धनुषाको बडहरीमा मिथिला महोत्सव हुँदै

न्यूज डेस्क
२०८३ कार्तिक १८, बुधवार ०७:१७

धनुषाको मिथिला नगरपालिका–९, बडहरीमा शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर मिथिला महोत्सव आयोजना गरिने भएको छ । बेङ्गाडाबर युवा क्लबको आयोजनामा कात्तिक २४ गतेदेखि मङ्सिर ६ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले बताएको छ।

क्लबका अध्यक्ष राजु लामाले मङ्गलबार पत्रकार सम्मेलन गरी महोत्सव आयोजनाबारे जानकारी दिनुभयो । वहाँले फुटबल खेलको विकास तथा स्थानीय कला, संस्कृति र उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको क्लबले बताउनुभयो । वहाँले महोत्सवबाट बचत भएको रकम फुटबल खेलको विकास तथा खेलाडीको क्षमता अभिवृद्धिमा खर्च गरिने जानकारी दिनुभयो ।

वहाँका अनुसार महोत्सवमा विभिन्न व्यावसायिक स्टल राखिनेछन् । ती स्टलमा स्थानीय उत्पादन, मौलिक कला, संस्कृति तथा परम्परागत सामग्रीको प्रदर्शन र बिक्री गरिने छ । स्थानीय व्यवसायको प्रवर्धन गर्दै व्यवसायीको आर्थिक अवस्था सुदृढ बनाउन महोत्सवले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा विभिन्न प्रकारका खेल तथा बालबालिकाका लागि मनोरञ्जनात्मक खेलसमेत रहनेछन् । त्यसैगरी, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको सहभागितामा प्रत्येक साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिने अध्यक्ष लामाले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा वडाध्यक्ष दीपकजङ्ग थापाले महोत्सवले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउनुका साथै कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा योगदान पुग्ने बताउनुभयो । त्यसका साथै फुटबल खेलप्रति युवाको आकर्षण बढाउँदै स्थानीय खेलकुदको विकासमा समेत टेवा पुग्ने वहाँले जानकारी दिनुभयो ।

 

मधेस प्रदेशको राजधानी जनकपुरधाम देखि २५ किलोमिटर उत्तरी भेगमा पर्ने धनुषाको मिथिला नगरपालिका पर्यटकिय र व्यवासायिक दृष्टिकोणले सम्भावना बोकेको ठाउँको रुपमा परिचित छ।

पत्रकार सम्मेलन

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर